‘ज्यादै त्रुटिपूर्ण र आपत्तिजनक छ ’अबगकभ त्रुटिपूर्ण र भ्रमपूर्ण इतिहास लेख्न, छाप्न र पढ्न हुन्न । यसले मानिसको मति भ्रष्ट पार्छ ।’
नेपाल प्राज्ञ प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङद्वारा लिखित नयाँ पत्रिका दैनिकमा गत कात्तिक १३ गते प्रकाशित आलेखले यस स्तम्भकारको ध्यान आकर्षित गरायो । डा. गुरुङको ‘नेपाल एकीकरण को इतिहास कति पूर्ण ? कति अपूर्ण ?’ शीर्षकको लेख नेपाली सेना, जंगी अड्डाले २०७७ फागुन २७ गते बिहीबार सेना दिवसको अवसरमा प्रकाशित गरेको ‘नेपाल एकीकरणको इतिहास’ पुस्तकको टिप्पणीका रूपमा आएको देखियो । चर्चित इतिहासविद् मानिने व्यक्तिहरू क्रमशः प्रा. डा. त्रिरत्न मानन्धर, प्राज्ञ डा. निदेशराज पन्त, प्रा. कमलराज सिंह राठौर र डा. विनोद थापाकै संलग्नतामा सो पुस्तक प्रकाशित भएको डा. गजमान गुरुङले उल्लेख गरेका छन् । दिग्गज इतिहासकारद्वारा लिखित सो पुस्तकले नेपाल एकीकरणको तथ्य नसमेटिएको डा. गुरुङको आसय स्पष्ट छ ।
पुस्तक तयार पार्न सहयोग पु¥याउने उपरोक्त चर्चित इतिहासविद्हरूले डा. गुरुङको टिप्पणीलाई कसरी लिन्छन् त्यो उनीहरूमै सीमित रहने विषय हो । तर यो स्तम्भकार जस्तै अन्य समस्त इतिहासप्रेमी पाठकहरूलाई भने कहलिएका इतिहासविद्हरू अझै पनि तथ्यहीन इतिहास लेखेकै भरमा चर्चित बन्दै आएका छन् भन्ने अनुभूति दिलाएको छ । हामी इतिहासका विद्यार्थीहरू कस्तो इतिहासको पुस्तक पढी, कस्तो ऐतिहासिक धरातलबाट उभिँदै आयौं भन्ने कुरा पनि डा. गुरुङको टिप्पणीले औंल्याएको छ । हाम्रो इतिहास लेखन अझै पनि वंंशावली, कथन र साभार प्रणालीभन्दा माथि उठेर तथ्यपूर्ण बन्न नसकेको प्रमाणित भएको छ ।
इतिहास कसैलाई रिझाउन, कसैको गुणगान गाउन तथा तथ्यहीन कल्पनामा आधारित हुने दन्त्य कथा जस्तो होइन । यो कुरा विज्ञ इतिहासविद्ले नबुझ्ने कुरै होइन । नेपाली सेनाकै इतिहासलाई हेर्ने हो भने गोरखा राज्य स्थापित हुनुअगाडि लिच्छवी मात्र होइन किरातकालदेखि नै विभिन्न नामले चिनिने सेना, नेपाली भूमिमा क्रियाशील थिए । राज्यको आन्तरिक एवं बाह्य सुरक्षाको दायित्व सेनाकै हुन्थ्यो । तर, नेपाली भूमिभित्र रहेको अनेकौं ससाना राज्यको सैनिक व्यवस्था एकै रूपको हुँदैनथ्यो । राज्य पनि विस्तारित एवं संकुचित भइरहने, एक अर्कामा गाभिने तथा लोपै हुने अस्थिर अवस्थाको सुनिश्चितता नहुँदा एकीकरण पहिलेको सैनिक इतिहास स्थिर हुन सकेन । प्राचीनकालदेखि नै नेपालमा सेना थियो भन्ने कहावत मात्रै अहिले हामीसँग छ ।
नेपाली सेनाको संगठनात्मक स्वरूप भने सर्वप्रथम पृथ्वीनारायण शाहले नेपालको एकीकरण अभियानलाई सशक्त बनाउने उद्देश्यले स्थापना गरेका थिए । यस क्रममा १८१९ आश्विन ६ गते उनले पुरानो गोरख, कालीबक्स, बर्दबहादुर, सबुजदल र श्रीनाथ गरी पाँचवटा सैन्य गण स्थापना गरी हातहतियार र युद्धकलासम्बन्धी तालिमसमेत दिलाएका थिए । हालको नेपाली सेनाको संगठनात्मक स्वरूपको प्रारम्भिक रूप नै त्यही हो ।
यसपछि समय समयमा अन्य गण गुल्मको स्थापना तथा युद्धकला र सैनिक दक्षता अभिवृद्धि गराउने आधुनिक प्रशिक्षण प्रदान गर्दै नेपाली सेनालाई अहिलेको अवस्थामा ल्याएको हो । नेपाल एकीकरणमा नेपाली सेनाको भमिका कस्तो थियो भन्ने कुरा त अनेकौं ससाना राज्यमा विभाजित नेपाललाई एक सूत्रमा बाँधी सिँगो नेपाल स्थापित गराएको अवस्थाले नै बताउँछ, हामीले वर्णन गरिरहनै पर्दैन । यो नेपाली सेनाको मात्र होइन सम्पूर्ण हामी नेपालीहरूकै गौरवको विषय हो । सेनाद्वारा प्रकाशित तथ्यहीन इतिहासले भने इतिहासका पाठक एवं विद्यार्थीलाई मात्र होइन एकीकरण अभियानमै आमनागरिककै हैसियतले सेनासँग हातेमालो गरी युद्धमा होमिएका वीर सपुतहरूकै अपमान गरेको छ । यही गौरवमय इतिहास भएको नेपाली सेनाले माथि उल्लेखित इतिहासविद्हरूकै सहयोगमा एकीकरण अभियानकै विस्तृत पक्षलाई नसमेटी अधुरै भए पनि पुस्तक त प्रकाशित ग¥यो । त्यो प्रशंसनीय छ तर सेना द्वारा प्रकाशित तथ्यहीन इतिहासले भने इतिहासका पाठक एवं विद्यार्थीलाई मात्र होइन एकीकरण अभियानमै आमनागरिककै हैसियतले सेनासँग हातेमालो गरी युद्धमा होमिएका वीर सपुतहरूकै अपमान गरेको छ भने उनीहरूकै सन्तति र आमनागरिक समेतलाई भ्रमित र निराश बनाएको छ । यसको दोष सेनाको हो वा इतिहास लेख्न सहभागी भएका इतिहासविद्हरू को हो ? भन्ने कुरा आमनागरिकहरूले नै मूल्यांकन गर्नुपर्ने भएको छ ।
वास्तवमा इतिहास सधैं यथाअवस्थामा रहिरहने विषय होइन । पात्र थपिँदै जाने, ऐतहासिक वृतान्त पनि बराबर थपिइरहने, लुप्त रहेका तथ्यहरू उजागर हुन सक्ने, भएकाले इतिहास हेरफेर हुँदै आउँछ । तर, इतिहासको प्रारम्भ नै अन्योलपूर्ण, तथ्यहीन, मनगढन्ते र दन्त्यकथा र उपन्यासजस्तो कल्पनामै मात्र आधारित भए नामको इतिहासले मात्र वास्तविक इतिहासको मान्यता पाउँदैन । अग्रजहरूले उल्लेख गरेको वृतान्त गलत भएपछिका खोज अनुसन्धानकर्ताले यसलाई तथ्ययुक्त बनाउँदै ल्याउनुपर्छ । त्यो खोज अनुसन्धाताहरूको धर्म पनि हो ।
उपरोक्त आलेखमा डा. जगमान गुरुङले ‘इतिहास संशोधनमण्डलले गरेको काममा अन्यथा हुन गएमा पं.नयराज पन्त, वरिष्ठ इतिहासविद् धनबज्र बज्राचार्य र प्राज्ञ ज्ञानमपणि नेपालको मानमर्दन गरेको ठहिरनेछ ।’ भनी उल्लेख गरेका छन् । तर, इतिहास संशोधनमण्डलको ऐतिहासिक तथ्यको संकलन र विवरण लेखन विज्ञानको जस्तो सत्य र अपरिवर्तनीय छैन भन्ने कुरा पनि हामीले बुझ्नुपर्छ । संशोधनमण्डलले, विगतमा नकोटिएका धेरै प्रमाणिक तथ्य उजागर गरेको छ तथापि यसले पनि एकीकरण अभियानकै सिन्धुलीगढी युद्धकै तथ्य उजागर गर्न सकेको छैन । यस परिप्रेक्ष्यमा डा. गुरुङको भनाइविपरीत संशोधनमण्डलले पहिल्याउन नसकेको ऐतिहासिक तथ्य अनुसन्धाता जोसुकैले पनि उजागर गर्न सक्छ ।
यसो गर्दा इतिहास संशोधनमण्डलका तत्कालीन विद्वत वर्गको मानमर्दन गरेको ठान्नुहुँदैन भन्ने स्तम्भकारको मान्यता छ । किनकि गुरुङको भनाइ अनुसार इतिहास सशोधनमण्डलको काममा अन्यथा हुनै नसक्ने आसय प्रस्ट देखिन्छ । डा. जगमान गुरुङको भनाइले पछिका अनुसन्धाताको दिमागमा चाबी लगाउने र कलम समाउने हातमै सिक्री झुन्ड्याइदिने आसयमा आधारित रहेको स्तम्भकारको बुझाइ छ । हाम्रो इतिहासको जग फित्तलो छ । वंशावली र कथनमै आधारित भई नेपाल’दयगत विदेशीले लेखेका पुस्तकलाई इतिहास मानी त्यसैलाई साभार गर्दै इतिहासलाई मौलिकता प्रदान गर्दै आएका अन्य नेपाली इतिहासकारको तुलनामा इतिहास संशोधनमण्डलले प्रकाशित गरेको इतिहास पहिलेको भन्दा तथ्ययुक्त र भरपर्दो छ भन्ने कुरामा दुई मत छैन । तथापि, इतिहास संशोधनमण्डलले प्रकाशित गरेको इतिहासले पनि हाम्रो इतिहासको सबै क्षेत्रलाई समेटेको देखिँदैन । त्यस’दयगतमा पछिका खोज अनुसन्धानकर्ताले तथ्य उजागर गर्दै जाने कि संशोधनमण्डलले जे लेख्यो त्यसैलाई समर्थन गरिरहने ? यो नै स्तम्भकारको मुख्य सवाल हो ।
इतिहासविद्को सामु महाभारत युद्धकै म दृष्टान्त राख्न चाहन्छु । महाभारतको युद्ध कहिले भएको थियो ? भन्ने तथ्य विश्व इतिहासको मात्र होइन हाम्रो इतिहासको पनि मेरुदण्ड हो । अन्योलमै रहँदै आएको हाम्रो ऐतिहासिक मान्यतालाई महाभारतको युद्धको तथ्यले स्पष्ट मार्गदर्शन गराउँछ । तर, महाभारतको युद्ध यही समयमा भएको थियो भन्ने भरपर्दो आधार अहिलेसम्मका कुनै इतिहास विज्ञसँग छैन । कतिपयले यो युद्ध ई.पू. ५ हजारमा, कसैले ई.पू. ३ हजारमा, कसैले ई.पू. २ हजारमा, कसैले ई.पू. १ हजारमा र कसैले ई.पू. ५ सयमा भएको हो भन्ने कुरा उल्लेख गरेका छन् । हामी विद्यार्थीहरूले कुन पुस्तकको भनाइ ठीक मान्ने ?
साथै यस युद्धको वास्तविक समय कुन हो ? अहिलेसम्म यसको जवाफ विज्ञ इतिहासकारसँगै छैन । यस’ दयगतमा खोज अनुसन्धानमा लागेका अध्येताले भोलि पुरातातित्वक रूपमै प्रमाणित हुने तथ्य फेला पारे वा शिलालेख नै फेला पारे भने त्यसलाई मान्यता दिने कि त्यसो गर्दा इतिहास संशोधनमण्डलका विज्ञ इतिहासविद्हरू कै मानमर्दन हुन्छ भनेर उजागर नगर्ने ? डा. जगमान गुरुङको यस’दयगतको प्रतिक्रिया के होला भन्ने कुरा यो स्तम्भकारको मात्र होइन, इतिहासप्रेमी सबैको जिज्ञासाको विषय हो ।
डा. गुरुङले सिन्धुलीगढीको युद्धमा खटिएका गोरखाली सैन्य कमान्डरको नाम सही नभएको, पश्चिमी किल्ला काँगडाको युद्ध समाप्त भएको मिति सेनाद्वारा प्रकाशित पुस्तकमा गलत भएको, एकीकरण ताका पृथ्वीनारायण शाहलाई आर्थिक सहयोग गर्ने खोटाङ खार्पाका हरिनन्द उपाध्याय पोखरेल र उनका दाजु त्रिलोचन उपाध्याय पोख्रेलको नाम पुस्तकमा उल्लेख गरेको तर एकीकरण वातावरणलाई सहज बनाउने पं. विश्वेश्वर अर्याल र जग्गा जमिनको स्रेस्ता मिलाएर नेपाललाई अखण्डित बनाएका पं. उदयानन्द अर्यालको योगदान’दयगत पुस्तकमा नभएको विचार व्यक्त गरेका छन् । तर, सिन्धुलीको बाटो हुँदै अंग्रेज फौज उपत्यका प्रवेश गर्दै छ । त्यसलाई सिन्धुली भन्ज्याङमै रोक्नुपर्छ । अंग्रेज उपत्यका भित्रिए नेपाल र हामी नेपालीको अस्तित्व रहँदैन । दिग्गज इतिहासकारद्वारा लिखित सो पुस्तकले नेपाल एकीकरणको तथ्य नसमेटिएको प्रति डा. गुरुङको आशय स्पष्ट छ ।
हिन्दुस्तान खानेले नेपाल बाँकी राख्दैन । अंग्रेजलाई सिन्धुली भन्ज्याङबाटै लखेट्न मैले के गर्नुपर्छ तयार छु आज्ञा पाऊँ भन्ने अंग्रेज आउने सूचनासहितको लिखित पत्र पठाउने तथा युद्धमा पृथ्वीनारायण शाहको मागअनुसार तत्कालै २ हजार रुपैयाँ नगद दिई सहयोग पु¥याउने । आआफ्नो क्षेत्रका झाराबटुली गोरखाली फौजमा मिलाई सैन्य शक्ति सुसंगठित बनाउन सहयोग पु¥याउने, युद्धमा सहभागी सम्पूर्ण नेपाली सैनिकको रसदपानीको व्यवस्था आफैं मिलाउने, यति मात्र होइन गोरखाली सेनापति काशीराम कुँवरसँगै आफ्नो टोली लिएर युद्धमा समर्पित हुने मुगिटार निवासी रामचन्द्र प्रसाईको भूमिका सैन्य इतिहासकारले त लोप नै गराए सो पुस्तकका टिप्पणीकार डा. जगमान गुरुङले समेत रामचन्द्र प्रसाईको भूमिका उजागर गराउन कन्जुस्याइँ गरे । माथि उल्लेखित खोटाङ खार्पाका पोख्रेल दाजुभाइले युद्धमा पृथ्वीनारायण शाह लाई के कस्तो सहयोग गरेका थिए ? सो कुरा कथन र विश्वासमा मात्रै आधारित हो वा प्रमाणमा आधारित छ । सो कुरा खुलेको छैन । एकीकरणमा रामचन्द्र प्रसाईले पृथ्वीनारायण शाहलाई पु¥याएको उल्लेख्य सहयोग एकीकरणकै सन्दर्भमा प्रकाशित गरिएको पछिल्लो पुस्तकमा पनि लोप गरिनु दुःखद् हो । सो कुराको प्रमाणका निम्ति यस स्तम्भकारले पुरातत्व विभागमा रहेको शाहकालीन चिठीपत्र संग्रह दोस्रो भाग वि.सं. १८९९, किताब नं. ६४६ बाट २०५१ सालमा इतिहास को अनुसन्धानकै क्रममा उतार गरी ल्याएको पृथ्वीनारायण शाहले रामचन्द्र प्रसाईलाई पठाएको प्रत्युत्तर पत्रको पूर्ण विवरण यहाँ प्रस्तुत गर्दछु । जुन पत्रको बेहोरा पुरातत्व विभागकै मुखपत्र ‘प्राचीन नेपालको’ संख्या १४ पेज ५७ मा २०२७ सालमै प्रकाशित भएको छ ।
पत्रको पूर्ण विवरणः
स्वस्ति श्री गिरिराज चक्रचूडामणि नरनारायणेत्यादि विविध विरुदावली विराजमान मानोन्नत श्रीमन्महाराजा धिराज श्री श्री श्री मत्पृथ्वीनारायण साह देवानां सदा समर विजयिनाम‘‘..
स्वस्ति श्री सर्वोपमा जाग्येत्यादि श्री रामचन्द्र पसैंके पूर्वक पत्रमिदं ञाहाँ कुशल तहाँ कुशल चाहिये जेहिते परमानन्द होइ पत्र आयो अर्थ मालुम भयो आग्ये ञाहांको समाचार भलो छ उप्रान्त सिधुलीमा फिलुंगि चडछ भन्या फांकिछ कसो गन्र्या हो भनि पठाया छाँै भलो भनेउ उ गोरषा नेपाल भंनु येकै हो वेलाका फेरले पेट बस्यो त जले पाया पनि आफैमा रहन्या हो उ सिधुलीमा फिलुंगी चढ्छ भन्याको निस्तुक हो जयप्रकाशको भरमै आया पनि हिन्दुस्थाना षान्याले नेपाल छाड्ला भन्नु छैन गोर्षा भन्नु नेपाल भन्नु उनै गोरषनाथ हुन त दुवै येकै हुन फिलुंगी भन्याको ब्यांसो हो आज उ चढयो भन्या सबैले बांचनु छैन उ ठाना पारि धाल्या जाति होला भनि विंती पारी पठाया छौ आज निगाल्यामा ठानु वा¥या पनि काल्ह भंज्यागमा वलियो गरी बस्न्या हो तर यानि जानु छैन फिलुंगीले पेट पाउला आफनु पेट कसो ग¥या पनि दिनु छैन पेट पायो भन्या थामन गाह्रो पर्ला जयनारानले पुरकोट उंभोका झारा वटुल्या छत पनि ततिले पुग्न्या होइन अरु भर तिम्रै छ चाँडो गरी आफ्नु वलली हाम्रा काजीहरू थ्यै जाव आड बलियो गरी बनाउन्या हो उ २ हजार रुपयाँ भया आजको काज टर्ला अन्न पानी आज पुग्या पनि काल्ह कसो होला जानिसक्नु छैन पुग्दो मिलाव षेत भन्या पनि काजीले सही हाल्या जति हो मोहर गरिबक्सौला पछि रुपैयाँ नै भन्छौ त पनि सावा ब्याज सबै सदर उ तिमी भन्याका वडा मानिस हौ आज काजीले भन्या जति हो तति पु¥याव ञाहांबाट पनि अरु भारालाई बिदा गरेउ तताको भर तिम्रै छ आज तिमीले मिहनत ग¥या पछि तिमीलाई छाडी कल्लाइ गर्नु छ काज पु¥याव विज्ञेषु किमधिकं भाद्र वदि ९ रोज ३ मुकाम कीर्तीपुर शुभम्
यो पत्र प्रा. मोहनप्रसाद खनालद्वारा लिखित ‘नेपाली भाषाका हजार वर्ष’ पुस्तकमा यसै स्तम्भकारद्वारा संकलित, सम्पादित एवं लिखित ‘प्रसाई वंशको इतिहासमा’ तथा समय समयमा ‘राष्ट्रिय स्तरकै दैनिक प्रकाशनहरूमा’ यसअघि नै प्रकाशित हुँदै आएको छ । इतिहासकै प्रमुख स्रोत मानिने पुरातत्व विभागमै संगृहित सो पत्र, एकीकरण अभियानकै तथ्यगत प्रमाणमध्ये एक हो । तर, यसैलाई उपेक्षित गर्नुको कारण के ? खुलाई समस्त पाठक महानुभावहरूको कौतुहलता पूरा गराइदिन सम्मानित सबै अग्रज इतिहासविद् र टिप्पणीकार डा. गजगमान गुरुङसँग म विशेष अनुरोध गर्दछु ।
साभार राजधानी दैनिक बाट









